दिन : २०८१ असोज १४ गते, सोमबार

समय : दिउँसो ११:३१ बजे

स्थान : गोदावरी, ललितपुर
असोज महिनाको लगभग मध्य । अनि त्यो दिनको पनि लगभग मध्य समय ।

दुई दिनसम्मको अविरल वर्षापछि बिस्तारै खुल्दै गरेको मौसम । तर त्यसबेला भने गज्जबले खुलेको । टन्टलापुर घाम लागेको । आकाश कञ्चन निलो । कुहिरो क्षितिजमा बिस्तारै पखेटा फिँजाइरहेको । त्यहीबेला आउँछन् दुई आमाछोरी । टनाटन भारी बोकेर आएजस्तो । डोकोमा डोको नै राखेर हिँडेका ।

डोकोभित्र खानेकुरा केही छैन । तर बेलुकी त्यही डोकोले आमाछोरीको हातमुख जोडिदिनेछ । उनीहरूलाई थाहा छैन कुन ठाउँ पुगेर हात मुख जोडिदिने हो ? थाहा छैन कतिखेर नाम्लो लगाएर बोकेको डोको खल्तीमा छिर्ने हो अनि दोकानमा पुग्ने हो ? जे हाेस् अगाडि बढ्नु छ उनीहरूलाई । आफ्नो सङ्घर्षले जिउनु छ । आफ्नो सीप बजारलाई दिनु छ ।

कहिलेकाहीँ चाहेको कुरा पछि मात्र थाहा हुन्छ । मतलब गुमेपछि त्यसको महत्त्व थाहा हुन्छ । वा भनौँ आफ्नो साथभन्दा टाढा पुगेपछि मात्र त्यसको उपादयता थाहा हुन्छ । मलाई आज त्यस्तै भयो ।

'डोका बेच्ने हो' ?, मैले सोधेँ । फोटो पनि खिच्न भ्याइसकेँ । 'मूल्य कति ?', त्यो पनि सोधेँ । तर 'मलाई एउटा दिनोस् न चाहिएको छ', भन्न सकिनँ । आमाछोरीले डाँडाँ काटी गए । पछि थाहा भयो— एउटा किन्नुपर्ने थिएछ ।