वि. सं. २०७१ मा काठमाडौंको कोटेश्वरस्थित एक घरमा कोठा डेरा भाडामा लिइयो । घरबेटी प्रदेश १ को पहाडी जिल्लाबाट बसाइँ सरेर आउनुभएको हुनुहुँदो रहेछ । त्यो बेला ‘मैले जग्गा लिने बेला यता स्यालहरू दिउँसै कराउँथे । मान्छे हिँड्नै डराउँथे । जङ्गल र खेत थियो यो एरियामा’, उहाँले भन्नु भएको थियो । आज (२०७९ फागुन ३ गते) बिहानै एउटा समाचार पढ्दा उहाँको कुराको याद आयो । समाचारले एउटा सङ्केत गरेको छ । फेरि पनि काठमाडौंका गल्ली र बडेमानका चोक झोरघारी बन्नेछन् र दिउँसै स्याल कराउने अनि मानिस हिँड्न नि डराउने बन्नेछ ।



समाचारअनुसार नेपाली विद्यार्थीहरू नेपालका कलेजमा अध्ययन गरिरहेका छन् तर उनीहरूको ध्यान भने अमेरिका र अस्ट्रेलियामा छ । प्लस टु गरिरहेका धेरैजसो विद्यार्थीले नेपालमा अवसर र भविष्य देखेका छैनन् । निराश छन् । समाचार पढेर डेढ दशक पहिलेको कुरा पनि याद आयो । डेढ दशक पहिले मैले पनि गाउँमा एसएलसीको परीक्षा दिएपछि भविष्यको खोजीमा राजधानी काठमाडौं आएँ । म मात्रै होइन, गाउँका करिब ९८ प्रतिशत हामी विद्यार्थी विभिन्न सहरमा पुग्यौँ । गाउँका कलेज सुके । अनि जमिनहरू बाँझो भए । अहिले झोरघारी भएका छन् । जङ्गली जनावरहरूको रजाइँ छ त्यहाँ । हो, ठिक यही अवस्था काठमाडौंको हुनेछ । पोखराको हुनेछ । विराटनगरको हुनेछ । समाचारले यही कुराको सङ्केत गरेको छ । समाचारले निराश पारेको छ । 

यो सङ्केतका बाबजुद नेपालमा अवसर छैन भन्न मिल्दैन । यहाँ अवसर छन् । ती अवसर सिर्जना गर्नुपर्छ । ‘राजनीति हेर्दै दिक्क लाग्छ’, भन्ने मत होला । तर राजनीतिलाई जनताले, तपाईँ हामी जस्ता आम नागरिकले बदल्ने हो । बदल्न सकिन्छ । हामी सबै आ–आफ्नो ठाउँबाट परिवर्तनका लागि लागौँ त, परिवर्तन कसो नहोला । आफ्नो दायित्व पूरा गर्ने र अधिकार प्राप्तीको लागि आवाज उठाऔँ त । यहाँ त पढ्नुपर्ने विद्यार्थीले (तपाईँ पनि) राजनीति गरेको छ । व्यापारीले राजनीति गरेको छ । कलाकारले राजनीति गरेको छ । पत्रकारले राजनीति गरेको छ । अलिकति काम गर्नुपर्‍यो भने हामी आफैँ मेरो मान्छे, मैले चिनेको मान्छे, फलनालाई भन्दिनुपर्‍यो भनेर भन्छौँ । हुँदाहुँदा विश्राम घर (चर्पी) जना पनि ‘सोर्स/फोर्स’ लगाउनुपर्ने जस्तो गर्छौँ । अनि कसरी हुन्छ परिवर्तन ? आफ्नो काम ढुक्कले गरे भयो नि, सबैले ! राजनीति गर्न त राजनीतिज्ञलाई दिऔँ न । गलत हुँदा कसैले कसैलाई रक्षा गर्ने काम गर्नु भएन ।

खासमा मुलुकमा पछिल्लो समय देखिएको निराशामा हाम्रो पनि कतै न कतै हात छ । हाम्रो दिमागमा व्यक्तिगत पैसाले बास गरेको छ । यो अवस्था आउनुमा हाम्रो पनि हात छ भने परिवर्तन पनि हामीबाट गर्नुपर्छ । निराशालाई आशामा बदल्नुपर्छ । नेपालमै आफ्नो दायित्व पूरा गरेर सहर्ष भविष्य निर्माण गरेका व्यक्तिहरू पनि छन् यहाँ । हातमा सीप हुने र कामलाई सम्मान गर्नेहरूको यहाँ नराम्रो छैन । निराश नहोऔँ । निराश भएर तपाईँ हामी नै पलायन भयौँ भने मुलुकको अवस्था थप बिग्रनेछ । काठमाडौंका ठूला चोक र गल्लीमा झारपात उम्रनेछन् । अनि स्याल कराउनेछ ।