‘यो जमाना बस स्क्रोलको हो । सर्र स्क्रोल गर्‍यो हेर्‍यो । कोसँग लामो अनि धेरै हेर्ने फुर्सद छ र ?’ उसले मोटिभेसनल स्पिकरको कुरा सुन्यो । उसलाई पनि ‘हो त है’, भन्ने पर्‍यो ।

उसले पनि त्यो महसुस गरेकै हो । फेसबुक हेर्‍यो– सर्र स्क्रोल गर्‍यो । रिफ्रेस गर्‍यो । फेरि स्क्रोल गर्‍यो । हेर्दै गयो । टिकटक हेर्‍यो– छोटो भिडियो, मिनेट नपुग्दै सकिन्छ । स्क्रोल गर्‍यो । ट्वीटर हेर्‍यो उस्तै । इन्स्टाग्राम हेर्‍यो उस्तै । छोटो ।

उसले यसै गरी स्क्रोल गर्छ । हरेक बिहान, दिउँसो अनि साँझ । मात्र सर्र स्क्रोल । किनकी उसँग फुर्सद छैन । छोरीसँग बोल्ने फुर्सद छैन । छोरासँग घरका कुरा गर्ने फुर्सद छैन । श्रीमतीसँग सँगै खाना खाने फुर्सद छैन । अझ आँखा झिमिक्क पार्ने पनि फुर्सद छैन । अझ भनौँ आरामले श्वास फेर्ने फुर्सद पनि छैन । 

फुर्सद नभएर उसले स्क्रोल मात्र गरेको उसको उमेरको एक तिहाइ भइसक्यो । अर्थात् १५ वर्ष स्क्रोल गरेरै बिताइ सक्यो । कहाँ छ र फुर्सद ? कहाँ छ र समय ?