शनिबार (०४ भदौ २०७९) सार्वजनिक विदा । विदामा के गर्ने ? खुलदुली हुन सक्थ्यो । खुलदुली थिएन । दुई वटा कार्यक्रम थिए । नेपाली भाषाका ‘झर्रोवादी’ अभियन्ता दाहाल यज्ञनिधिको स्मृतिसभा र खोटाङ कलाकार समाजको भव्य साङ्गीतिक कार्यक्रम । तर दुवै कार्यक्रममा उपस्थिति जनाइएन । बरु लागियो गोदावरीको ‘मार्वल डाँडाँ’ । त्यहाँ जानुको उद्देश्य दुई वटा थिए । डाँडाँमा पुगेर एक/दुई वटा फोटो खिच्ने र अर्को बीच बाटोमा सिस्नुको फूल टिप्ने । डाँडाँमा पुगियो । पुगेपछि त्यहाँ देखेको एउटा दृश्यले पुर्‍यायो ललितपुरदेखि ख्वाङटाङसम्म ।

ठुला–ठुला ढुङ्गा । ढुङ्गाभन्दा तलदेखि उम्रेका डाले घाँस । ठिक्क ढुङ्गाभन्दा तीन–चार फिट माथिसम्म पुगेका । ढुङ्गामाथिबाट लम्केर घाँस खाँदै गरेको ‘सिँगार्ने’ खसी । अनि अरू केही बाख्राको ‘हुल’ । पारी हेर्दा हरियाली जङ्गल । माथि हेर्दा भीर अनि तल हेर्दा सानो गाउँजस्तो । यही दृश्यले पुर्‍यायो मलाई ख्वाङटाङ । 

सानो ढुङ्गाको गारो र खरले छाएको घर । पूर्व (तल्लो)पट्टि घरको बच्चाजस्तो टाँसेर निकालेको कोठा । घरको उत्तर (पछाडि) तिर सानो बाटो । सानो पनि कसरी भनौँ, त्यै थियो गाउँको मूलबाटो । तर कहिलेकाहीँ सायद महिनामा एक पटक वारीपारीका मान्छे पाहुना लाग्न जाँदा प्रयोग गर्थे त्यो बाटो । नत्र विद्यार्थी र माथिल्लो घर, तल्लो घरका मान्छेहरूबाहेक अरू नयाँ मान्छे हिँड्दैनथे । त्यै बाटोसँगै जोडिएको बाख्राको खोर । खोरमुनि बाख्राको बर्कुला लदद थियो । तर गन्हाएको याद छैन । त्यो खोरमा बेलुकीदेखि दिउँसो ११/१२ बजेसम्म बाख्रा हुन्थे । चरणका लागि ११/१२ बजेतिर खोलेर पारीको कोकनाबु डाँडाँ कटाइन्थे ती बाख्रा । बेलुकी चार/पाँच बजे पेट टम्म पारेर फर्किन्थे । ती कोकनाबुमा लस्कर लागेर फर्किन्थे । जाँदा जस्तै लस्कर । तर ढिलो चालमा । जाँदा भने दौडिन्थे ।

त्यस्तो दृश्य हिउँदमा अक्सर देखिन्थ्यो । स्कूल नगएको दिन आफैँ कोकनाबु पुगिन्थ्यो, बाख्रासँगै । अनि यता घरतिर फर्केर हेर्दा तीन घर देखिन्थे । अलि तल चार/पाँच घर । पारी बाक्सिप । त्योभन्दा पूर्वतिर खोलापारी तङ्छक्ला देखिन्थ्यो । दक्षिणतिर हेर्दा दूधकोशी र चौदण्डी डाँडाँ देखिन्थ्यो । अझ उ...ता कयौँ ठाउँ देखिन्थे । कतिले भन्थे ‘इन्डिया हो ।’ 

कोकनाबुमा नाक जस्तै देखिने ढुङ्गा थियो । अझै पनि छ । डाँडाँको नाम कोकनाबु कसरी भयो ? यहाँ मलाई लागेको कुरा बताउँछु । कोकनाबुलाई दुई टुक्रा पारौँ । ‘कोक’ र ‘नाबु’ । यो बान्तावा भाषा हो । ‘कोक’ को अर्थ ‘भात’ र ‘नाबु’को ‘नाक’ हुन्छ । भातजस्तै देखिने सेतो चकमक ढुङ्गा र नाक जस्तो अर्को ठुलो ढुङ्गा भएकाले सायद त्यसलाई ‘कोकनाबु’ भनिएको । यति मात्र नभएर पूरै डाँडाँ नै नाके डाँडी जस्तो देखिन्छ । ख्वाङटाङमा कोकनाबु ‘ढाक्को’ र ‘ह्युक्को’ गरेर दुई वटा छन् । 

कोकनाबुमा भातको सिताजस्तै देखिने सेतो चकमक ढुङ्गा थियो । अझै पनि सानासाना चकमक ढुङ्गा पाइन्छ । त्यहाँको चकमक ढुङ्गा टिपेर घर ल्याउँथ्यौँ । कोठामा राती ‘झ्याक–झ्याक’ जुधाएर आगोको झिल्का निकाल्यौँ । माहिली बज्यै (माथिल्लो घरको बज्यै) ले त ‘झुलो’ समेत प्रयोग गरेर आगो फुक्नुहुन्थ्यो, बिडी सल्काउनुहुन्थ्यो ।

अहो ! सम्झिदै जाँदा कहाँदेखि कहाँ पुगिदो रै’छ । सम्झाइदिने काम शनिबार मार्वल डाँडाँको दृश्ले गरायो । त्यो कतिले ख्याल गरे, थाहा भएन । मान्छे चाहिँ त्यति सानो ठाउँमा भरिएका थिए । त्यत्रो मान्छे त्यहाँ एकैपटक देख्दा अनि गोदावरी बसपार्कदेखि डाँडाँ जाने बाटोमा भएको जाम देख्दा व्यस्त पर्यटकीय स्थल नै बनेको रै’छ भन्ने लाग्यो– मार्वल डाँडाँ ।