आज ०२ भदौ २०७९ । बिहानै डेरा गरेर बसेको घरदेखि पारीपट्टि गएँ । जाँदै गर्दा फूल, भत्केको भित्ता र मनमोहक धानबाली अनि पृष्ठभूमिमा कन्क्रिट घर र क्षितिज देखेँ । यी तस्बिरमा तपाईँ देख्न सक्नुहुन्छ ।

फूलले मेरो बाल्यकाल सम्झाइदियो । सानो खरले छाएको हाम्रो घर । घर ढुङ्गाको गारो अनि माटोले लिपेको (आजकल कन्क्रिटको घर प्लास्टर गर्छन्) । घरदेखि ‘घुरेन’भएर ‘घरबारी’मा बाँधेको एउटा भैँसी माउ । अर्को कोरली ‘तिल्कु’ गाई । दिउँसो चराउन लानुपर्ने । चराउने बेला कोकनाबु जाने बाटो गौरा–गौरा लानुपर्ने । अनि पँधेरो (पानी खुवाउने ठाउँ) को मुनि त्यस्तो फूल थियो । अर्को बोट ‘रिठ्ठाटाङ’ र ‘सुम्योपा वाङ’मा थियो । अलि खोल्साजस्तो वा पानी हुने ठाउँमा हुने यो फूलको बास्ना ‘गन्ध’ लाग्थ्यो । अलि नाकलाई मन पर्दैनथ्यो । तर पनि टिप्नैपर्ने । टिपेर ‘सनाई’ भन्दै साथीलाई देखाउनुपर्ने । उबेला थियो त्यो । त्यसलाई ‘ढोढोमा’ भन्थ्यौँ । त्यही फूल यो तस्बिरमा ।

अर्को तस्बिरले वर्तमानलाई देखाएको छ । आजकल छोटो समयमा धेरै पैसा कमाउन नचाहने मान्छे पाउन मुस्किल छ । त्यै चाहनाले ‘रियल स्टेट’ व्यवसायमा थुप्रै मान्छे लागेका छन् । राजधानी र यस वरपरका डाँडाँपाखा डोजर लगाएर कोतरी पठाएका छन् । अनि साँधबिनाको यो धर्तीलाई कन्क्रिट रेखा कोरेर साँध लगाएका छन् । अनि उबेला भैँसी/राँगा काटेर त्यसको आन्द्राभित्रको चबाएका घाँस पल्टाइ पठाएजस्तो देखिन्छ । त्यहीमाथि थोरै पानी परेर माथिको ढिस्कोले पुर्ने गरेको छ । सोही दृश्यमध्ये हो यो एउटा तस्बिर । वर्तमानमा यस्तै किसिमका ध्वंश गर्ने काम भइरहेको छ । 'अस्थायी' पैसाका लागि प्रकृतिको रूपमाथि धावा बोल्ने काम वर्तमानमा भइरहेको छ । विकासका नाममा प्रकृतिको अनुहार चिथोर्ने काम भइरहेको छ ।

हेर्दा सुन्दर देखिन्छ यो तस्बिर । फाँट छ (सानो छ)। फाँट धानले टम्म छ । टम्म धानको पृष्ठभूमिमा कन्क्रिट घरहरू र सुन्दर क्षितिज देखिन्छन् । कतिपय घर भर्खर बन्दैछन् । ती घरहरूले खेतलाई अतिक्रमण गर्दै आइरहे जस्तो देखिन्छ । त्यो अतिक्रमण रोकिनेवाला छैन । बरु अतिक्रमण अझ तीव्र बन्नेछ । भविष्यमा यो देखिएको खेत कन्क्रिट घरले टम्म हुँदैनन् भन्न सकिन्न । अनि देखिएको पाखा ‘वर्तमान’को तस्बिरझैँ हुन बेर छैन ।