आमा, सेवा ! अनि ढोग पनि गरेँ है !

मलाई अहिले ठीकै छ । हल्का खोकी र ज्वरो मात्र आएको हो । पीर मान्नु पर्दैन । अनि, त्यता तिमी र गाउँले पनि सबै कुशलै होलान् नि हैन ?

अस्ति साङकाफोपको जीवन्योपासँगै घर आउन खोजेको थिएँ । आउन पाइन । अफिसले ८ गतेसम्म विदा नदिने कुरा ग¥यो । ९ गते दिउँसो चैँ सूचना निकालेको थियो । ‘स्वैच्छिक विदा लिनू’ भनेर । १० गते त लकडाउन नै भयो । त्यसपछि आउने कुरै भएन । एक/दुई दिन अघि सूचना गरेको भए म आउँथेँ । के गर्नु काठमान्डुदेखि हाम्रो घरै टाढा छ । घर आइपुग्न दुई दिन लाग्छ । आज त लकडाउन भएको पनि ८ दिन पुगिसकेछ ।

आमा, खासमा म अहिले अस्पतालमा छु । यो चिठी अस्पतालमै बसेर लेखिरहेको हुँ । यो लेखिसकेपछि यहाँ हेरचाह गर्ने नर्सलाई दिन्छु । थाहा छैन, तिमीलाई उसले पठाइदिन्छिन् कि हैन ? तर मान्छे चाहिँ निकै दयालु जस्ती छिन् । मेरो राम्रो ख्याल गर्छिन् । ‘निको हुन्छ’ भनेर सान्त्वना दिइरहन्छिन् । फेरि यो चिठी तिमीकहाँ पुग्दा लकडाउन खुलिसकेको हुनुपर्छ । नत्र कसरी पुग्छ र ? उनले पनि हुलाकमा लगाइदिइन् भने लकडाउन खुलेपछि न हो ।

लकडाउन घोषणा गरेको बेलुकी ९ गते तरकारी किन्न कालिमाटी गएको थिएँ । आलु, प्याज, दाल, यस्तै किन्न । सायद अब सबै कुहिन्छन् होला । कसैले लगेर खाए हुन्थ्यो । फेरि कोरोना छ कि भनेर डराउँछन् होला । के खान्थे ! . . . अँ, त्यहीँ दिन कोरोना कसैबाट सर्‍यो कि जस्तो लागेको छ ।

यो अस्थायी अस्पतालमा बसेको आज तीन दिन भयो । मलाई राखिएको कोठा ठुलो छ । परसम्म एकै किसिमका २४/२५ वटा बेडहरू लहरै छन् । सबै बेडमा अक्सिजनको सिलिन्डर राखिएको छ । ती सिलिन्डरले बिरामी पर्खिरहेका छन् । घरीघरी त लाग्छ मसान घाटले मुर्दा पर्खिरहेको छ । गिद्धले कतिखेर प्राण जाला भनेर मदौरोलाई कड्के आँखाले हेरिरहेको छ । कोठा सफा र उज्यालो त छ । तर प्लास्टिक र सीसाले छोपिएको । उकुसमुकुस हुने । उज्यालो त्यही पारदर्शी प्लास्टिक र सीसाबाट छिर्छ । हावा छिर्ने केही भेन्टिलेटर प्वालहरू छन् । बस यति । 

कोठाभित्र हामी बिरामी चार जना छौँ । दुई दिन अघिसम्म दुई जना मात्र थियौँ । आज मात्र अरू दुई जना बिरामी थपिएका हुन् । तर एकअर्कासँग कुरा गर्न पाएका छैनौँ । दुई/तीन बेड छोडेर पर–पर हामीलाई राखिएको छ । आफूखुसी यहाँभित्र हिँड्न पाइन्न । दिसापिसाब गर्ने बेला मात्र यहीँ भित्र भएको सौचालयसम्म जाने हो । तैपनि सीधा जाने–आउने मात्र ।

आमा, सायद हाम्रो भेट हुँदैन होला अब । आज मैले तिमीबाट लुकाएको एउटा कुरा भन्दै छु । चित्त दुखाउँछ्यौ होला । तर छोरा हुँ; माफ गर है ! मैले साथीहरूसँग ख्याल ख्याल गर्दै चुरोट खान सिकेँ । गाउँमा स्कूल पढ्दैदेखि चुरोट पिउन थालेको हुँ । मेरो फोक्सो कमजोर भइसक्यो होला । कोरोना भाइरसले फोक्सोमै समस्या ल्याउँछ भन्छन् । त्यसमाथि काठमाडान्डुको धुलो धुवाँ । यसै पनि फोक्सो कमजोर हुने भइहाल्यो ।

सायद म यो अस्पतालबाटै बालाई भेट्न जान्छु होला । माथि बासँग पनि माफी माग्नेछु । गाउँमा तिमीलाई केही भएको छैन भनेर खबर बताउँला । गाउँमा पनि गाडी गुड्न थाले भनुँला । हिउँदमा काठमान्डुबाट घरकै आगनसम्म गाडीदेखि पुग्न सकिन्छ भनुँला । आमा. तिमी पीर नमान । मेरो अन्तिम संस्कार अस्पतालकै मान्छेले गर्नेछन् । तिमीलाई खबर पुग्यो भने पनि मेरो लाश नछुनू है ! तिमीलाई पनि कोरोना सर्न सक्छ । माओवादीले लडेको युद्धभन्दा खतरनाक छ यो कोरोना । घोडेटारको युद्धमा पर्दा शक्ति दाइको लाशलाई अँगालो हाले जस्तो अँगालो नहाल्नू । मेरो लाश हेरे पनि परैबाट हेर्नू । मुटु दरो पार्नू । आखिर तिमी प्रकृति हौ । जननी हौ । प्रकृति एउटा बोट मर्दैमा हार मान्दैन । चट्टानको कापबाट पनि बिरुवा उमार्छ । अनि बैनी तैँले झन ख्याल गरेस् । आमाको पनि ख्याल गरेस् ।

उही परदेशी छोरा
आलाङ्ने, सेवा !
***

सर यो चिठी मैले नै ले’ख्या हुँ । कोरोना लाग्दा मलाई डर ला’ग्या ’थ्यो । म मर्छु जस्तै ला’ग्या ’थ्यो । यो चिठी सिस्टरलाई दिएँ र आमाले पढिन् भने पीर मान्छिन् भनेर पकेटमै राखेको थिएँ । म बाँचे । तपाईँहरूकै उपचारले बाँचेँ । सिस्टरहरूको राम्रो रेखदेखले बाँचेँ । तर मेरी आमा बाँचिनन् ।

लकडाउन हुने देखिएपछि सबै घर जान थाले । सहरमा बसेकाहरू सबै गाउँ फर्किए । इन्डियाबाट पनि आएछन् । अरू देशबाट पनि कति आएछन् । पल्लो घरको साइँला दाइ पनि कतारबाट लकडाउन नहुँदै आएका रै’छन् । आमालाई सारी ल्याइदिएछन् । आमाले एकदिन लाएर हटिया पनि भरेछिन् । उनलाई के थाहा त्यहाँ कोरोना भाइरस ’थ्यो भनेर । अर्को दिनदेखि ज्वरो आउन थालेछ । खोकी पनि । सास फेर्न नि गाह्रो भएछ । उसै त दमको बिरामी । स्वास्थ्य चौकीका अहेबले आमालाई छुनै मानेनछन् । तै गाउँलेले बोकेर बेल्टारसम्म लगेछन् । तर धरान/विराटनगर जाने सवारी केही पाइएनछ । एम्बुलेन्सको त कुरै छाडौँ । त्यसको अर्को दिन आमाले हामीलाई सधाका लागि बिर्सिएर गएछिन् । आज ४५ दिनपछि यो अपस्पतालको बेडबाट उठ्दा थाहा पाउँदैछु; आमालाई बोक्ने पाँच जनामध्ये तीन जना घर फर्किएनन् रे । उनीहरूले सधाका लागि घर फर्किन पाएनन् रे । 

(लेखक : सन्तोष निरा)