Advertisement

Main Ad

कात्रो

सुन्दर फुलसँगै फक्रिएर
बालापनदेखि नै नयाँ वस्त्रले ऊ
फुलसँगै मित लाउँथ्यो
घरि सयपत्रीसँग, घरि गुलाबसँग त घरि
अनेक सुवासदार फुलसँग,
म भने उसका ती कान्ति हेरेर बस्थेँ ।

एकदिन अचानक ऊ बिरामी प¥यो
तर अस्पतालहरू नाकाबन्दीले ठप्प थिए,
अझ त्यसमाथि बिरामीको नाडी छाम्नेहरू
‘अनसन’ लेखिएको ठुलो कालो ब्यानरमुनि बसेर
आफ्नै नाडी छाम्दै
स्लाइनका बोतलजति
आफ्नो दराजभित्र चावी लगाएर
पालमुनि बसिरहेका थिए ।

अर्को दिन एकाबिहानै म डाक्टर बोलाउन जाँदा
डाक्टरले आफ्नो नाडीमा
स्लाइनको सुइ घोप्न लागेका थिए
मैले पनि ठुलो साहस बटुलेर
साउथ इन्डियन फिल्ममा
हिरोले गरेझैँ
स्लाइनको बोतल फुत्त हातमा लिएँ
अर्को हातको स्याऊ
उसकै हातमा थमाइ दिएँ
र दौडिएँ,
तर अचानक लावालस्करसहित
सेतो डोली वनकालीतिर गइरहेको देखेँ
त्यसपछि मेरो वेग बढाउन खोजेँ
अहँ, खुट्टाले सही पाइला चाल्न छाड्यो
कानले नबुझ्ने ‘टी...’ गरेको सङ्गीत
एकोहोरो सुन्न थाल्यो
बल्तल्ल त्यहाँ पुग्दा
बोप्लुङ जस्तो खाडलमा
उसले उत्तानो परी
आफ्नो शरीर सेतो कपडाले पूरै
ढाकेर सपनाको समाधि गर्दै थियो
अनि घुम्टोझैँ अनुहार छोपिएको
एक टुक्रा सेतो कात्रो उचाली
‘मित्र आखिर मान्छेलाई चाहिने यो कात्रो मात्र रै’छ’
भनेर एकोहोरो आकाश हेरिरह्यो ।



Post a Comment

0 Comments